नेकपा एमालेका नेता योगेश भट्टराईले लामो समयपछि प्रतिपक्षीमा बसेर आत्मसमिक्षा गर्ने मौका माओवादीलाई प्राप्त हुन लागेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले लामो समय सत्तामा बसेका कारण माओवादीले आफ्नो मूल उदेश्य बिर्सिएको हुन सक्ने कटाक्ष गर्दै अव प्रतिपक्षीमा बसेर आत्मसमिक्षा गर्ने मौका प्राप्त हुने बताउनुभयो ।
उहाले सरकारबाट हट्नुको पिडा प्रचण्डले सदनमा देखाएको आरोप लगाउनुभयो । सदनमा प्रधानमन्त्रीले गलत तथ्याङ्क प्रस्तुत गरेको भन्दै उहाले सदनले पछिसम्म पनि यसको जवाफ खोजी रहने तर्क गर्नुभयो । उहाले देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस र एमाले एक ठाउँमा आइपुगेको दाबी गर्नुभयो ।
आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न सुझाव दिदै उहाले देशको हितका लागि सवै एकैठाँउ आउनुपर्ने जिकिर गर्नुभयो । उहाले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुने भन्दै अनावश्यक आशंका नगर्न पनि आग्रह गर्नुभयो ।
उहाले माओवादीले लगानी भन्दा बढी नाफा खाजेको उल्लेख गर्दै माओवादीको धितो जमानत नपुग्दा पनि व्यक्तित्वका आधारमा प्रचण्डलाई साथ दिएको बताउनुभयो ।