प्रथम पाण्डवखानी कप २०८१ को उपाधि तमानखोला युथ क्लब तमानखोलाले जितेको छ ।
अनुशासन गतिशिलतामा युवाहरुको एकता, ग्रामिण खेलकुद विकासमा खेलाडी उत्पादनमा सक्रियता भन्ने मुल नाराका साथ पाण्डवखानी क्लवको आयोजना तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको सह आयोजनामा सञ्चालन प्रथम पाण्डवखानी कप २०८१ को उपाधि तमानखोला युथ क्लब तमानखोलाले जितेको हो ।
तमानखोला युथ क्लब तमानखोला र आयोजक बिच भएको खेलबाट तमानखोला युथ क्लब तमानखोला विजयी भएको हो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले युवाहरुले स्थानिय स्तरमा खेलकुदको सञ्चालनको लागि देखाएको सक्रियताको प्रशंसा गर्दै यस्ता खालका प्रतियोगिताहरु निरन्तर सञ्चालन गरी खेलाडिहरु उत्पादन र संरक्षणको लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै संविधान सभा सदस्य नर बहादुर पुन निरजले खेलाडि राष्ट्रको गहना भएकोले खेलाडिहरुको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षककर्तालाई समेत पुरस्कार वितरण गरिएको थियो । त्यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगितामा राईजिङ भ्युज डान्स ग्रुप हटिया प्रथम, रोयल होटल पाण्डवखानी द्धितिय र आयोजक तृतिय भएका छन् । कार्यक्रम क्लवका अध्यक्ष लाल प्रसाद पुनको अध्यक्षता, सचिव राहुल पुनको स्वागत, भ्रमण श्रीस र मुस्कान पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।