नेपाली राष्ट्रिय भलिबल खेलाडीहरू सन्तोष बिक, ईन्द्र बिक र नारायण श्रीसलाई बागलुङ स्पोर्ट्स हङकङले एक विशेष कार्यक्रमका बीच सम्मान तथा बिदाई गरेको छ। क्लबका अध्यक्ष मेकराज पुनको अध्यक्षतामा उक्त बिदाई कार्यक्रम सम्पन्न भएको हो।
बागलुङ स्पोर्ट्स हङकङको विशेष निमन्त्रणामा हङकङ पुगेका यी तीन खेलाडीहरू हलेसी क्लब हङकङले हिजो (२४ मे) आयोजना गरेको भलिबल प्रतियोगितामा उत्साहजनक सहभागिता जनाएर आज नेपाल फर्कने तयारीमा छन्।
सम्मानित हुने तीनै जना खेलाडीहरूको एउटै विशिष्ट पहिचान छ ।उनीहरू बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीका रैथाने हुन्।सन्तोष विक रइन्द्र विक: नेपालकै स्थापित एवं चर्चित राष्ट्रिय भलिबल खेलाडी हुन्। नारायण श्रीस: नेपाली भलिबल वृत्तमा तीव्र गतिमा उदाउँदै गरेका प्रतिभावान खेलाडी हुन्। खेल विश्लेषकहरूका अनुसार उनलाई निकट भविष्यमै राष्ट्रिय टोलीको जर्सीमा कोर्टमा देख्न सकिने बलियो सम्भावना छ। यसअघि पनि नारायणले हङकङ पुगेर आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन्।
पाण्डवखानीमै जन्मी-हुर्की स्थानीय पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययन गर्दागर्दै यी तीनै जनाले खेल क्षेत्रमा पाइला चालेका थिए। विद्यालय स्तरको कोर्टबाट सुरु भएको उनीहरूको यात्रा आज देश र विदेशका ठूला मञ्चहरूमा पुगेको छ, जसले गर्दा उनीहरूले आफ्नो मात्र नभई गाउँ र सिङ्गो देशकै नाम उँचो बनाएका छन्। पाण्डवखानीका यी प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिन र उनीहरूको पहिचानलाई अझ फराकिलो बनाउन बागलुङ स्पोर्ट्स हङकङले महत्त्वपूर्ण अभिभावकीय भूमिका खेल्दै आएको छ। कार्यक्रममा क्लबका प्रतिनिधिहरूले आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीहरूको प्रोत्साहनका लागि यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
