गलकोट नगरपालिका वडा नं. १० (पाण्डवखानी) लाई एक भव्य समारोहका बीच ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा‘ घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ गलकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय र पाण्डवखानी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको हो।
स्वास्थ्य चौकीले चैत महिनामा गरेको घरधुरी सर्वेक्षण अनुसार वडाभित्र रहेका १६ महिनादेखि ५९ महिना उमेर समूहका कुल १०४ जना बालबालिका मध्ये सबै जनाले पूर्ण खोप पाएको सुनिश्चित गरिएको छ। १५ महिनाभित्रका सम्पूर्ण बालबालिकाहरूलाई पूर्ण खोप प्रदान गरी नगर खोप समन्वय समितिको निर्णय बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेर यो वडालाई पूर्ण खोप सुनिश्चित वडा प्रमाणीकरण गरिएको हो।
घोषणा समारोहमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, शिक्षिका, सञ्चारकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको व्यापक सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर काउचाले वडालाई पूर्ण खोपयुक्त बनाइराख्न र यसको दिगोपनाका लागि आगामी दिनमा पनि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वरिष्ठ समाजसेवी मानसिंह छन्त्याल र स्वास्थ्य स्वयंसेविका थममाया काउचा पुन लगायतले वडाको स्वास्थ्य क्षेत्रको सुधार र खोप अभियानको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन सि.अ.हे.ब हिरा काउचाले गर्नुभएको थियो।
उक्त घोषणा सभामा उपस्थित सबै सरोकारवालाहरूले आगामी दिनमा पनि एक जना बालबालिका पनि खोपबाट वञ्चित नहुने गरी अभियानलाई निरन्तरता दिने सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन्।
