हाम्रो गाउँ बनाउने हामी आफैं हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गलकोट नगरपालिका वडा नम्बर १०, पाण्डबखानीलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ।
यसै अभियानको पहिलो चरण स्वरूप स्थानीय समाजसेवी तथा प्रर्यटन व्यावसायिक टेक बहादुर पुनको व्यक्तिगत प्रयासमा पाण्डबखानीका कृषकहरूलाई १,०००(एक हजार) थान सुन्तलाका बिरुवाहरू निःशुल्क वितरण गरिएको छ। गाउँमै व्यावसायिक कृषि क्रान्ति ल्याउने र स्थानीय स्तरमै रोजगारी सिर्जना गरी गाउँलाई आत्मनिर्भरता तर्फ डोर्याउने उद्देश्यले उक्त बिरुवाहरू वितरण गरिएको हो।
सुन्तला पछि पाण्डबखानीको माटो र हावापानी अनुकूल हुने अन्य थुप्रै प्रजातिका फलफूल भित्र्याउने योजना समेत रहेको बुझिएको छ। समय अनुकूल मिलाएर आगामी दिनमा निम्न फलफूलका बिरुवाहरू पनि वितरण गरिने दाता टेक बहादुर पुनले जानकारी दिनुभएको छ। किबी,अङ्गुर,अम्बा,कागती,एभोकाडो (अबगाडो)
स्थानीयको प्रतिक्रिया: गाउँका युवाहरू विदेशिने र खेतीयोग्य जमिन बाँझो रहने क्रम बढिरहेका बेला, समाजसेवी पुनको यो व्यावसायिक कृषिमुखी अभियानले पाण्डबखानीबासीमा ठूलो उत्साह जगाएको छ। स्थानीय कृषकहरूले यस कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा यी बिरुवाहरूको उचित संरक्षण गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
