गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीस्थित सिद्धथान–सुनपानी सडक खण्डको स्तरोन्नती कार्य सम्पन्न भएको छ । नगरपालिकाको विनियोजित बजेट अन्तर्गत करिब ४० लाख रुपैयाँ बराबरको लागतमा सडक स्तरोन्नती कार्य सम्पन्न गरिएको हो ।
विकासका आधारभूत पूर्वाधारमध्ये प्रमुख मानिने सडक सञ्जालको विस्तार र स्तरोन्नतीले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले सडक ढलान गरिएको हो । सडक निर्माण समितिका अध्यक्ष गिरि पुनका अनुसार कुल १२४ मिटर लम्बाई र ६ मिटर चौडाईको मोटरबाटो सडक स्तरउन्नती कार्य सम्पन्न गरिएको हो । सडकको केहि भागमा ढलान गरिएको छ भने अन्य स्थानमा सोलिङ (गिटी बिच्छ्याउने) कार्य सम्पन्न गरिएको छ ।
उहाँले निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय ढंगले सम्पन्न गरिएको बताउँदै स्थानीय जनश्रमदान र समन्वयमा आयोजना सफल भएको जनाईएको छ । स्थानीय तहको विकास योजनालाई पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रयास अन्तर्गत यो योजना समयमै सम्पन्न गरिएको हो । सडक स्तरोन्नतीसँगै अब गाउँमा नियमित सवारी आवागमन सहज हुने भएको छ ।
स्थानीयबासीले सडक स्तरोन्नती भएपछि वर्षौंदेखिको बाधा हटेको बताएका छन् । बर्खायाममा हिँड्न समेत मुस्किल हुने बाटो अहिले सजिलो बनेपछि सबै खुसी भएका छन् । गलकोट नगरपालिकाले पछिल्लो समय वडा–वडामा आवश्यक पूर्वाधार निर्माण तथा मर्मतमा प्राथमिकता दिँदै आएको छ ।

