गलकोट नगरपालिका–१० पाण्डबखानीमा सर्वदलीय बैठक सम्पन्न भएको छ। मतदान स्थल पाण्डबखानी कुरिन्थान केन्द्रमा आयोजित बैठकमा मतदान प्रक्रिया, सुरक्षाको व्यवस्था तथा आचारसंहिताका विषयमा विस्तृत जानकारी गराइएको थियो।
बैठकमा मतदान कसरी गर्ने, जेष्ठ नागरिक, असहाय अपाङ्ग तथा गर्भवती महिलालाई प्राथमिकता दिने व्यवस्था, एकाधिकार परिवारले मत हाल्न नपाउने, मतदान केन्द्रको ३ सय मिटर भित्र वा बाहिर मदिरा सेवन गर्न नपाइने, चुनावी प्रचार सामग्री जस्तै टोपी, टिर्सट प्रयोग गर्न नपाइने लगायतका विषयमा स्पष्ट निर्देशन दिइएको थियो। साथै सुरक्षाका विषयमा समेत आवश्यक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा गलकोट–१० का वडा अध्यक्ष भक्तबहादुर काउचा, नेपाली कांग्रेसका सभापति दलबहादुर घर्ती, नेपाल कम्युनिस्ट पार्टीका छम काउचा, नेकपा एमालेका रामप्रसाद पुन र रास्वपाका टेकबहादुर पुन, पत्रकार सुरेश छन्त्याल, निर्वाचन स्थलमा खटिएका प्रहरी नायब निरीक्षक रामचन्द्र लामिछाने लगायत सम्पूर्ण सुरक्षाकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। मतदान केन्द्र (क) का मतदान अधिकृत चण्डीराज पौड्यालको अध्यक्षता तथा बुद (ख) का मतदान अधिकृत गणेश शर्माको सञ्चालनमा बैठक सम्पन्न भएको हो।
कुरिन्थान केन्द्रको बुद (क) र (ख) गरी जम्मा १५१६ मतदाता रहेका छन्। त्यस्तै गलकोट–१० कै रमुवा गाउँस्थित रमुवा आधारभूत विद्यालयमा भोलि सर्वदलीय बैठक बस्ने जानकारी निवर्तमान वडा अध्यक्ष तिलक घर्तीले गराउनुभएको छ। रमुवा मतदान केन्द्रमा जम्मा ३६८ मतदाता रहेका छन्।
