मुलुकमा बढ्दो बेरोजगारी र अवसरको अभावका कारण परदेशिन बाध्य नेपाली युवाहरूको पीडालाई समेटेर नयाँ गीत सार्वजनिक भएको छ। गायक तथा पत्रकार बिक्रम सुनार र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सजिएको उक्त गीत हालै बजारमा आएको हो।
बाध्यताले देश छोड्नुपरेका लाखौँ नेपालीहरूको मनको आवाज बनेको यस गीतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारसँग छुट्टिँदाको भावुक क्षण र परदेशको संघर्षलाई दुरुस्तै उतारेको छ। गीतमा शब्द तथा लय सर्जक भुवन बिकेको रहेको छ।
चर्चित मोडल गोविन्द विवशले निर्देशन गर्नुभएको यस गीतको भिडियोमा गीतकार भुवन बिके र अनिता नेपालको मुख्य अभिनय देख्न सकिन्छ। प्रिज्म रेकर्डिङ स्टुडियोमा अडियो निर्माण गरिएको यस गीतको भिडियो सम्पादन असिम चन्द्र विश्वकर्माले गर्नुभएको हो भने प्रस्तुति मनिषा सदाशङ्करको रहेको छ।
गायक सुनारको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले निकै मन पराएका छन्।
लामो समयदेखि पत्रकारितामा समेत सक्रिय गायक सुनार नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिका सचिव हुनुहुन्छ। हाल जापानमा रहनुभएका सुनारले यसअघि पनि ‘लेकाली ठिटो’, ‘भने जस्तो होस्’ र ‘परदेशीको पीडा’ जस्ता चर्चित गीतहरू बजारमा ल्याइसक्नुभएको छ।
भिडियो
