पन्चेबाजा शैलीमा तयार गरिएको मौलिक गीत ‘हिड लाहुर’ को भिडियो सार्वजनिक भएको छ। यसअघि गीतको अडियो सार्वजनिक भइसकेको थियो भने अब यसको भिडियो पनि दर्शकमाझ ल्याइएको हो।
गायक संजय थापा मगर र गायिका दीपिका बायाम्बु मगर को सशक्त आवाजमा सजिएको यस गीतमा नेपाली मौलिकता र पन्चेबाजाको मिठास झल्किएको छ। गीतको मास्टरिङ इन्जिनियरका रूपमा कुमार राना तथा एरेन्जरका रूपमा यम थापा मगर रहनुभएको छ। भिडियो संजय थापा मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
यसअघि ‘गलबन्दी र पछ्यौरी’, ‘सालिनानी मौलिक कौउरा’, ‘झोर्ले है साली’ र ‘मोही पार्ने मादानी’ जस्ता चर्चित गीतमार्फत दर्शक तथा श्रोतामाझ छुट्टै पहिचान बनाइसक्नुभएका संजय थापा मगर हाल फ्रान्स मा रहँदै आउनुभएको छ। विदेशमा बसेर पनि नेपाली मौलिक गीत–संगीतप्रति उहाँको गहिरो लगाव र निरन्तर सक्रियता प्रशंसनीय मानिएको छ।
युरोपका विभिन्न देशहरूमा हुने सांगीतिक कार्यक्रमहरूमा समेत उहाँको सक्रिय सहभागिता रहने गरेको छ। उहाँका साथी दीपक खड्का का अनुसार, थापा मिलनसार, प्रतिभाशाली तथा सबैसँग सहज रूपमा घुलमिल हुने स्वभावका कलाकार हुनुहुन्छ।
गीतलाई अझ लोकप्रिय बनाउन दर्शक तथा श्रोताहरूलाई TikTok भिडियो निर्माण गरी गीत सुन्ने–हेर्ने तथा आफ्ना प्रतिक्रिया, सुझाव र सल्लाह दिन अनुरोध गरिएको छ।
विदेशमा रहेर पनि नेपाली मौलिक पन्चेबाजा संगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आउनुभएका संजय थापा मगरको ‘हिड लाहुर’ गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गरिएको छ।
