गलकोट बहुमुखी क्याम्पसको आयोजनामा आज पत्रकार सम्मेलन गरिएको छ ।
क्याम्पसले आगामी फागुन ६ गतेदेखी १३ गतेसम्म आयोजना गर्न लागेको श्रीमद्भागवत् शैक्षिक ज्ञान महायज्ञको जानकारी दिन पत्रकार सम्मेलन गरिएको क्याम्पसले जनाएको छ ।
कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्द सिंह भण्डारीले गलकोट बहुमुखी क्याम्पस गलकोट क्षेत्रको एकमात्र उच्च शैक्षिक संस्था भएको र गलकोटको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको बताउनुभएको छ ।
उहाँले गलकोट बहुमुखी क्याम्पसलाई गण्डकी प्रदेशकै नमुना क्याम्पस बनाउने उद्देश्यले शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको बताउनुभएको थियो । भण्डारीले पत्रकारहरुलाई शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्नुपर्ने कारण, उद्देश्य लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा उपस्थित पत्रकारहरुले विद्यार्थीहरु वैदेशिक रोजगारीमा आकर्षित भइरहेको सन्दर्भमा क्याम्पसले शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गरी विद्यार्थी आकर्षणका लागि कस्ता खालका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ, विगतमा सञ्चालन गरीएको महायज्ञबाट संकलित रकम सकिन लागेर अर्को महायज्ञ सञ्चालन गर्न लागिएको हो वा होईन, महायज्ञमा २० करोड रकम संकलनको सुनिश्चितता कति रहेको र महायज्ञमा रकम बोल्ने तर रकम नदिने प्रवृत्तिलाई कसरी लिएको लगायका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका प्रश्न तथा जिज्ञासाको गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारी, गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्मा, गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी र गलकोट बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख देबेन्द्र बहादुर खत्रीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बागलुङ, गलकोट, ताराखोला र गुल्मीका गरी १५ जना राष्ट्रिय तथा स्थानिय पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रम गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, शैक्षिक ज्ञान महायज्ञ सूचना तथा सञ्चार उपसमितिका संयोजक विर बहादुर चोखालको स्वागत र गलकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चुडामणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।