थम्मन थापा(सन्देश) गलकाेट
तत्कालिन विद्रोही नेकपा माओवादीको नेतृत्वमा सुरू भएको जनयुद्धको आज २९ औं जनयुद्व दिवस मनाईएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि सुरू भएको जनयुद्व २०६२/६३ सालको जनआन्दोलन सँगै अन्त्य भएको थियो ।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको सुरुवात गरेको थियो ।
२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि जनयुद्वको औपचारिक रूपमा अन्त्य भएको थियो । शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।
नेकपा माओवादी केन्द्र गलकोट नगर समितिले २९ औँ जनयुद्ध दिवस चियापान तथा भेटघाट गरेर मनाएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका अध्यक्ष चन्द्रदत्त रेग्मीले जनयुद्धबाट प्राप्त उपलब्धीहरूको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने प्रवृत्तिबाट सचेत रहनु पर्ने बताउनु भएको छ ।
रेग्मीले तत्कालीन महान जनयुद्धले गाउँ गाउँसम्म नेपाली जनतालाई जागृत गर्दै सामन्तवाद विरुद्धको राजनैतिक लहर ल्याएको स्मरण गर्दै जनयुद्धकै जगमा भएको ०६२-६३ को जनआन्दोलनले नेपालमा सदियौँ देखिको सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्नुभयो ।
उहाँले मुलुकमा भएको यो राजनैतिक परिवर्तनले आज हामीले समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता, सङ्घीयता लगायतका महत्त्वपूर्ण राजनैतिक उपलब्धिहरू प्राप्त गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य मेख बहादुर विक (पहाड), जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क पाण्डे, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश परिषद सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा बागलुङका अध्यक्ष विरेन्द्र पहाडी, नेकपा माओवादी केन्द्रका प्रवास समन्वय समिति सदस्य तिर्थसिंह भण्डारी, प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा ‘सन्देश’ र नेकपा माओवादी केन्द्र गलकोट नगर सदस्य गुमानसिंह बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगर सहसचिव सरस्वती रेग्मी कार्कीको स्वागत र सचिव भीम विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।