पश्चिम बागलुङका नगरपालिका तथा पालिकाहरुको साझेदारीमा मध्यपहाडि लोकमार्गमा स्थानिय बस सञ्चालन गर्नको लागि बडिगाड गाउँपालिकामा बैठक सम्पन्न भएको छ ।
गलकोट नगरपालिकाको सिमाना घोडाबाँधेदेखि निसीखोलाको सिमाना पातिहाल्नेसम्म पर्ने नगरपालिका तथा गाउँपालिकाहरुको साझेदारीमा मध्यपहाडि लोकमार्गमा स्थानिय बस सञ्चालन गर्ने उद्देश्यका साथ आज बागलुङको बडिगाड गाउँपालिकामा बैठक सम्पन्न भएको हो ।
बैठकमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले आवश्यक प्रक्रिया पुयाएर स्थानिय बस सञ्चालन गर्न सबै पालिकाहरु तयार हुनुपर्ने बताउनुभएको छ । उहाँले यातायातमा नागरिकको पहुँच सरल र सहज गराउनको लागि यो कार्यक्रम अत्यन्त महत्वपुर्ण हुने समेत बताउनुभएको थियो । उक्त बैठकले स्थानिय बस सञ्चालनको लागि गृहकार्य गर्नको लागि समिति गठन गरेको छ । गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा बडिगाड गाउँपालिकाका वडा अध्यक्ष विष्णु आचार्य, ढोरपाटन नगरपालिकाका वडा अध्यक्ष सान बहादुर छन्त्याल, निसीखोला गाउँपालिकाका वडा अध्यक्ष चन्द्रसिंह राम्जाली र सदस्य सचिवमा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन घर्ती रहनुभएको छ ।
बैठकमा निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्ती, ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्याण कायत, बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री लगायतको सहभागिता रहेको थियो । बैठक बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षता र बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।