संविधान सदस्य नर बहादुर पुन (निरज) ले बालमैत्री स्थानीय शासन नगर घोषणालाई दिगोपनाको लागि नगरपालिकाले विशेष खालको कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ गलकोटमा आयोजना गरिएको बालमैत्री स्थानीय शासन नगर घोषणा पश्चातको पहिलो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पुनले यस्तो बताउनुभएको हो । उहाँले बालबालिकाहरुलाई खेलकुद, नृत्य तथा गित गाउन जे गर्न ईच्छा लाग्छ त्यो गर्नको लागि होसियार भएर गर्नुपर्ने बताउनुभएको छ । पुनले बाबुआमा, घरपरिवार, समय र समाजले विश्वास गर्ने र सम्मान गर्ने असल नागरिक बन्नको लागि आग्रह गर्नुभएको थियो ।
उहाँले बालबालिकाले मात्र गर्छु भनेर नहुने र सरकारले पनि सहयोग गर्नुपर्ने बताउँदै मानिसहरुलाई उच्च शिक्षा कसरी हासिल गर्ने, शिक्षा हासिल गरेपछि जागिर कसरी खाने घरपरिवार कसरी धान्ने लगायत तनाव हुने भएकोले आफुहरु आत्मविश्वासका साथ उडान भर्नको लागि विद्यार्थिहरुलाई आग्रह गर्नुभएको थियो ।
गलकोट नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, राजनितीक दलका प्रतिनिधी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको र्याली गलकोट नगरपालिकाको कार्यालय बाट सुरु गरिएको हटिया बजार परिक्रमा गरी गलकोट बहुमुखी क्याम्पसमा आएर कोण सभामा परिणत भएको थियो ।
उक्त कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालमैत्री स्थानीय शासन घोषणा नगरपालिकाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगर बाल सञ्जाल तथा वडा बाल सञ्जालहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै नगर बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा दिगोपनाको लागि सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । भने गलकोट नगरपालिकालाई पुर्ण खोप नगर समेत घोषणा गरि सामुहिक हस्ताक्षर समेत गरिएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थम्मनसिंह गौतम, गलकोट नगरपालिका वडा नम्वर ३ का अध्यक्ष फम बहादुर खत्री, नेपाली काँग्रेसका गलकोट नगर सभापती वीरगंज भण्डारी, नेकपा एमाले गलकोट नगर सचिव दान बहादुर श्रीस, नेकपा माओवादी केन्द्र गलकोटका कार्यबाहक अध्यक्ष गंगा बहादुर भुजेल, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका गलकोट नगर सभापती राजेन्द्र पुन, ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख थम्मन सिंह राना, सुनौलो नगर बाल सञ्जालका अध्यक्ष सुरक्षा गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, बालमैत्री फोकल पर्सन रामचन्द्र शर्माको स्वागत र शिक्षा अधिकृत शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।