गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गलकोट नगरपालिकाको नगर सभाको १५ औँ अधिवेशनमा नगर सभा अध्यक्ष भरत शर्मा गैरेले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषिमा लागेर सफल भएका युवा व्यवसायीहरुसंग कृषि पेशामा लाग्न चाहने र कृषि पेशामा संलग्न भईरहेका युवा किसानहरुलाई साक्षात्कार गराई सफल किसान बन्न सघाउने उद्देश्यले कृषि संग युवा कार्यक्रम सञ्चालन गर्ने, माछा मार्न इजाजत पत्र वितरण गरी इजाजत प्राप्त व्यक्तिले मात्र तोकिएको विधि र समयमा मात्र माछा मार्न पाउने व्यवस्था गर्ने, गलकोट नगरपालिकालाई दुध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउदै लगिने, पशुहरुमा कृत्रिम गर्भाधान मार्फत नश्ल सुधार गरी उत्पादकत्व बढाइने, पशु बधशाला एवम् मासु पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गर्न सचेतना वृद्धि गर्ने, छाडा चौपाया एवं भुस्याहा कुकुरहरुको नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई सीप मुलक तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, गलकोट नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाहरुलाई जिम्मेवार बनाईने, नगरपालिका भित्र रहेका पर्यटकीय धरोहरहरु घुम्टेको लेक, सहस्रधारा झरना, रमुवा, निलुवा, थालेपोखरा, कालीलेक, राम्चे ढुङ्गा, सिद्धथान, उदय बुद्ध विहार, शिवधुरी, गाजा धुरी आदिको विकास र प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गर्ने समावेश गरिएको छ ।
त्यस्तै नगर उपप्रमुखसंग थ्रोम्बोलाइसिस कार्यक्रम सञ्चालन गरी हृदयघात भएका बिरामीहरुको उपचार गर्ने कामको शुरुवात गरिने, गर्भवती र सुत्केरी महिलाको लागि आकस्मिक रेफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, मुस्लिम समुदायका व्यक्तिको मुत्यु भएपछि अन्तिम संस्कार गर्ने उपयुक्त स्थल पहिचान गरी कबरस्थान निर्माण गर्ने, सामाजिक न्यायमा आधारित समतामूलक र सभ्य सभाज निर्माण गर्न महिलामाथि हुने लैङ्गिक तथा यौनिक हिंसा, समाजिक विभेद, छुवाछुत, अन्धविश्वास, सामाजिक कुप्रथा र कुरीति जस्ता विकृतिहरुलाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीले आफ्ना गुनासो प्रत्यक्ष रुपले नगरप्रमुखसंग राख्ने व्यवस्था गरी शैक्षिक क्रियाकलापमा सुधार ल्याउन सामुदायिक विद्यालयहरुमा विद्यार्थीसंग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीको मूल्याङ्कन प्रणालीलाई विश्वसनीय बनाउन परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादिन बनाउने, नगर भित्रका बासिन्दालाई आधारभुत स्तरको खानेपानी सुविधा उपलब्ध गराउने, कृषियोग्य भूमिमा सिचाई पूर्वाधार विस्तारलाई तिव्रता दिने, स्थानीय कच्ची सडकको आयु बढाउन नाली निर्माण गरी वर्षे भेल कटाउने कार्यलाई अगाडी बढाउने, उपभोक्ता समितिबाट कार्यान्वयन हुने कम्तिमा दश लाख रुपैयाँ भन्दा माथिका भौतिक पूर्वाधारका योजनाहरुमा कामदारको दुर्घटना बीमा गर्ने नीति अवलम्बन गर्ने, यसै आर्थिक वर्षदेखि नगरपालिकामा भू सेवा केन्द्र सञ्चालन गर्ने, नगरपालिकामा अवैध सञ्चालित निजी ढुङ्गाखानी र नदी उत्खननलाई बन्द गर्ने, सबै वडा कार्यालयमा विपद् व्यवस्थापनका आधारभुत सामग्री आपुर्ती गर्ने, नगरपालिकाको काम कारवाहीमा पारदर्शिता कायम गर्दै सूचनाको हक प्रवर्धन गर्ने, अनलाइन कर भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाई निरन्तरता दिने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
सभामा नगर सभा अध्यक्ष भरत शर्मा गैरेले प्रस्तुत गरेको गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम, नगरउपप्रमुख फमलाल निउरेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को राजस्व परामर्श समितिको प्रतिवेदन र न्यायिक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको थियो । त्यस्तै सभामा नगर सभा सदस्यहरुले प्रश्न, सुझाव तथा जिज्ञासाहरु राख्नुभएको थियो ।
कार्यक्रम नगर सभाका अध्यक्ष भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नगर सभा आगामी असार ८ गतेसम्मका लागि स्थगित भएको छ ।