शैक्षिक सुधारका लागि लगानी वृद्वि गर्दै गईरहेको गलकोट नगरपालिका वागलुङले शैक्षिक सुधारमा पनि सकरात्मक परिणाम निकालिरहेको छ । गलकोट नगरपालिकाको आधारभूत तह उत्तिर्ण परीक्षा कक्षा-८ को नतिजा प्रकाशनले गलकोटको आधारभूत तहको शैक्षिक गुणस्तर सुधारात्मक देखिएको हो । गलकोट नगरपालिकामा कक्षा ८ संचालन भएका सामुदायिक विद्यालय २५ र संस्थागत ९ गरी जम्मा ३३ विद्यालयमा अध्ययनरत जम्मा ५७२ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए । गलकोट नगरपालिकामा यस शैक्षिक सत्रमा ६७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । शैक्षिक सत्र २०७९ शालमा १९ प्रतिशत, २०८० शालमा ४२ र यस शैक्षिक सत्रमा ६७ प्रतिशत नतिजा आएको हो । यस शैक्षिक सत्रमा सहभागी विद्यार्थीहरुमध्ये 3.6 GPA भन्दा माथि ल्याउने ५९ जना विद्यार्थी रहेका छन् । गलकोट नगरपालिकाले आधारभूत तह उत्तिर्ण परीक्षालाई एस.ई.ई. परीक्षा मोडेलमा संचालन गरेको थियो । परीक्षा व्यवस्थापनका लागि ११ वटा परीक्षा केन्द्रहरु तोकि प्रत्येक केन्द्रहरुमा फरक विद्यालयहरुवाट केन्द्राध्यक्ष र निरीक्षकहरु खटाईएको थियो । नतिजा सुधारका लागि गलकोट नगरपालिकाले उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान, गणित, अंग्रेजी र विज्ञान विषयको नतिजा सूधार कार्यक्रम, नगरस्तरीय अर्धवार्षिक परीक्षा संचालन तथा व्यवस्थापन, शैक्षिक क्यालेन्डर तथा डायरी निर्माण र कार्यान्वयन, शैक्षिक प्रर्दशनी, विषयगत गलकोट क्वीज कार्यक्रम, विषयगत विषय विज्ञ समूह निर्माण जस्ता थुप्रै कार्यक्रम मार्फत शैक्षिक सुधारका कार्यक्रम अगाडि बढाईएको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिनुभयो । कार्यालयले नतिजा सुध्रदै जानुमा विद्यार्थी र शैक्षिक सुधारको लागि विशेष कार्यक्रमहरुलाई जोड दिदै जानु साथै विद्यालयहरुले पनि विशेष विद्यालय अन्तर्गतका कार्यक्रमहरू नतिजा सुधारमा जोड दिनुले नतिजा सुध्रिएको उहाँले जानकारी दिनुभयो ।