गलकोट नगरपालिकाको १७ औँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । गलकोट नगरपालिकाको शनिबार देखी सञ्चालन भएको आर्थिक वर्ष २०८१र०८२ को १७ औँ कार्यपालिकाको बैठक आज सम्पन्न भएको हो । आगामी आर्थिक वर्ष २०८२र०८३ को कार्यक्रमको बारेमा बुँदागत रुपमा छलफल गरिएको थियो । बैठकमा आर्थिक वर्ष २०८१र०८२ को प्रगती प्रतिवेदनको बारेमा विषयगत रुपमा व्यापक रुपमा छलफल गरिएको छ । विगतको आर्थिक वर्षमा भन्दा यस आर्थिक वर्षमा चालु खर्चलाई न्युनिकरण गरिएको समिक्षा गरिएको थियो ।
त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यहि असार ५ गते गर्ने समेत निर्णय गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । बैठकमा गत आर्थिक वर्ष गरिएको राम्रा अभ्यासहरुलाई अझै निरन्तरता दिदैँ सुधार गर्नुपर्ने पक्षहरुलाई अझै सुधार गरेर लैजाने बारेमा छलफल गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो । बैठकमा नगरउपप्रमुख र कार्यपालिका सदस्यहरुले आआफ्नो तर्क प्रस्तुत गर्नुभएको थियो । बैठक गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । आगामी कार्यपालिकाको बैठक असार ३ गते हुने समेत जानकारी गराईएको थियो ।

