मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अझै कालोपत्र नहुँदा यात्रु र स्थानीयले वर्षौँदेखि कष्ट भोगिरहेका छन्। विशेषगरी बिहुँ–घोडाबाधे १३ किलोमिटर खण्डमध्ये करिब ६ किलोमिटर अझै अधुरो रहेकाले दैनिक समस्या झन् बढेको छ।
मंगलबार बिहान चितवनबाट गलकोटतर्फ सामान बोकेको मिनि ट्रक बिहुँमा हिलोमा फसेपछि यात्रु घण्टौँ बाटोमै अलपत्र परे। चालक रमण शर्माले भने, “यो बाटोमा यात्रा गर्नु भनेको दुःख पर्खनु हो, हिउँदमा धुलो, वर्षामा हिलोले हैरान बनाउँछ।”
यात्रु मात्र होइन, स्थानीयहरू समेत सडककै कारण त्रासदीमा छन्। घोडाबाधेकी वसन्ती थापाले भनिन्, “बजार जान गाह्रो, बिरामी परे एम्बुलेन्स चल्दैन, सरकारी कर्मचारी आउँदैनन्। सडककै कारण हामी वन्धकझैँ छौँ।”
बागलुङ बजारदेखि घोडाबाधेसम्म २५ किलोमिटर सडक कालोपत्र गर्न नौ वर्षअघि नै ठेक्का सम्झौता भएको थियो। तर बिहुँ–घोडाबाधे खण्ड अझै अलपत्र छ। अघिल्लो ठेक्का तोडिएपछि गत वर्ष तामाङ–रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि एक वर्षमा जम्मा १० प्रतिशत मात्र प्रगति भएको छ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतकी इञ्जिनियर कल्पना मिश्राले निर्माण कार्य अघि नबढ्नुमा मौसमलाई कारण देखाइन्। तर स्थानीय यमबहादुर पुनले भने, “ठेकेदारले काम नगर्ने, सरकार मौन बस्ने, सास्ती भने हामीले मात्र पाउने,” भन्दै आक्रोश पोखेका छन्।
तस्बिर :रासस

