नेपालको सबै भूभागबाट यस वर्षको मनसुन शुक्रबारदेखि पूर्ण रूपमा बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशभरबाट मनसुनको समाप्ति भएको हो।
विभागका अनुसार असोज २० गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानहरूबाट मनसुन बहिर्गमनको प्रक्रिया सुरु भएको थियो।
नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ (असोज १६) भए पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको विभागले जनाएको छ।
यद्यपि मनसुन समाप्त भए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा आंशिक बदली र हल्का वर्षा हुन सक्ने सम्भावना रहेको विभागको भनाइ छ।
यस वर्षको मनसुन गत जेठ १५ गते नेपाल प्रवेश गरेको थियो।
