नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले क्रियाशील सदस्यहरूको नवीकरण सम्पन्न गरी जिल्ला कार्यसमितिमा बुझाएको छ। गत वर्ष पौष महिनामा वडा–वडामा फाराम वितरण गरी नवीकरण प्रक्रिया अघि बढाइएको थियो।
क्षेत्रीय समितिले जम्मा ३ हजार ३२७ जना क्रियाशील सदस्यको नवीकरण गरी जिल्लामा पठाएको क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए।
सभापति बुढाका अनुसार गalkot नगरपालिकाबाट १ हजार २६२, ढोरपाटन नगरपालिकाबाट ५११, बडिगाड गाउँपालिकाबाट ६२४, निसीखोला गाउँपालिकाबाट ४३७, तमानखोला गाउँपालिकाबाट ३२३ र ताराखोला गाउँपालिकाबाट १७० जना क्रियाशील सदस्यको नवीकरण भएको हो।
यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि सबै वडामा ३ हजार १०० फाराम पठाइसकिएको सभापति बुढाले बताए। नयाँ सदस्यता आगामी पौष ८ गतेभित्र क्षेत्रीय समितिमा बुझाइसक्नुपर्ने उनले स्पष्ट पारे।
पौष १६ गते वडा अधिवेशन हुने भएकाले नयाँ सदस्यता समयमै वितरण र संकलन गर्नुपर्ने बाध्यता रहेको सभापति बुढाको भनाइ छ।

