घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गलकोट नगरपालिका वडा नम्बर १० को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर काउचाले सहकारीले समुदायको आर्थिक सशक्तीकरणमा खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो। उहाँले सहकारीले बचत, लगानी तथा आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आगामी दिनमा पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित सेवामार्फत अझ प्रभावकारी बन्दै जाने विश्वास व्यक्त गर्नुभयो। साथै, साधारणसभा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण पदाधिकारी, सदस्य तथा कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
सभामा अध्यक्ष प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो। सहकारीमा हाल ३०० जना बाल बचतकर्ता र ६५१ जना शेयर सदस्य रहेका छन्। आर्थिक विवरण प्रस्तुत गर्दै सदस्य गिरीप्रसाद घर्तीले सहकारीको कुल आम्दानी ४४ लाख ३४ हजार ५१३ रुपैयाँ, खर्च ४१ लाख ४८ हजार ८५१ रुपैयाँ, खुद नाफा २ लाख ८५ हजार ६६१ रुपैयाँ र सेयर बचत ३२ लाख २८ हजार ८०० रुपैयाँ रहेको जानकारी दिनुभयो। साधारणसभाको अवसरमा एकल महिला, ज्येष्ठ महिला तथा पुरुष, बाल बचतकर्ता मध्य १२ कक्षा उत्तीर्ण विद्यार्थी, असल ऋणी, पत्रकारलगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर काउचा, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, वरिष्ठ समाजसेवी मानसिंह छन्त्याल, सप्तरङ्गी बचत तथा ऋण सहकारीका प्रबन्धक दीप घर्ती, महिला जागरण केन्द्रकी अध्यक्ष राधिका पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
पाण्डबखानी स्वास्थ्य चौकी प्रमुख रत्ना सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष चन्द्रकुमारी श्रीसको अध्यक्षता, कोषाध्यक्ष तेजकुमारीको स्वागत मन्तव्य र सचिव कर्णकुमारी काउचाको सञ्चालनमा सम्पन्न भएको थियो। साधारणसभाले पुरानै समितिका अध्यक्ष चन्द्रकुमारी श्रीसको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति गठन गरेको छ।

