गलकोट नगरपालिका वडा नम्बर ५ मा वडा स्तरीय कृषि मेला प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा रुस्दी युवा क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर उप–प्रमुख फमलाल निउरेले कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न यस्ता कृषि मेलाहरू प्रभावकारी हुने बताउनुभयो । उहाँले कृषि नै हाम्रो मुख्य आधार भएको उल्लेख गर्दै कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म प्रोत्साहन गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । साथै उहाँले स्थानीय उत्पादनको संरक्षण र व्यवसायीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कृषि पेशाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा गलकोट नगरपालिका भित्रका सम्पूर्ण वडाहरूको सहभागिता रहेको थियो ।
कृषि मेला प्रदर्शनी तथा प्रतियोगितामा गलकोट नगरपालिका वडा नम्बर १० प्रथम, वडा नम्बर ५ द्वितीय, वडा नम्बर ११ तृतीय तथा वडा नम्बर ६ सान्त्वना भएको गलकोट नगरपालिकाका कृषि शाखा प्रमुख सङ्गीता श्रीसले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहले १० हजार, द्वितीय हुने समूहले ८ हजार, तृतीय हुने समूहले ५ हजार तथा सान्त्वना हुने समूहले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको उहाँले बताउनुभयो ।
प्रतियोगिताको मूल्याङ्कन कृषि विकास कार्यालय बागलुङका कृषि अर्थविद् प्रतिभा शर्मा, पशु सेवा शाखा प्रमुख चिन्तामणि शर्मा तथा नगर कृषि विकास समितिका संयोजक गुमानसिंह खत्रीले गर्नुभएको थियो ।
कार्यक्रम रुस्दी युवा क्लबका अध्यक्ष अम्मर बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो ।
🗓️ २०८२ माघ १८ आईतवार 🕝१२: १५ मध्यान्ह

