नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्ष पदमा बागलुङका नरेश कँडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ। उद्योग वाणिज्य संघ बागलुङले संस्थागत निर्णय गर्दै कँडेललाई गण्डकी प्रदेश अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेसँगै उहाँले औपचारिक तयारी थाल्नुभएको हो।
शनिबार बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न बैठकले यही माघ महिनामा हुने अधिवेशनका लागि अध्यक्ष पदमा नरेश कँडेलको उम्मेदवारी घोषणा गरेको हो।लामो समयदेखि उद्योग वाणिज्य संघमा सक्रिय रहँदै आएका कँडेलले बागलुङ उद्योग वाणिज्य संघमा तीन वर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै कुशल नेतृत्व प्रदान गर्नुभएको थियो। २०६५ सालमा साधारण सदस्यका रूपमा संघमा प्रवेश गर्नुभएका कँडेल २०६६ देखि २०६९ सम्म पहिलो कार्यकाल र २०६९ देखि २०७२ सम्म दोस्रो कार्यकाल कार्य समिति सदस्य रहनुभयो। त्यसपछि २०७२ देखि २०७५ सम्म द्वितीय उपाध्यक्ष, २०७५ देखि २०७८ सम्म महासचिव र २०७८ देखि २०८१ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो। हाल उहाँ २०८१ देखि उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सदस्य रहनु भएको छ।नेपाल पत्रकार महासंघ बागलुङ लगायत विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका कँडेलले अस्थिर राजनीतिक अवस्थामा पनि निजी क्षेत्रलाई क्रियाशील र गतिशील बनाउँदै सरकारी निकायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। युवाको नेतृत्व आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले समृद्ध गण्डकी प्रदेश निर्माणका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने, जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यहरूको व्यक्तिगत तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने बताउनुभएको छ। साथै प्रदेशको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी बनाउने र व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको कँडेलले स्पष्ट पार्नुभएको छ। उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि यही माघ महिनामा निर्वाचन हुने कार्यक्रम रहेको छ।

