बागलुङ/गलकोट नगरपालिका–१० पाण्डबखानीमा सामुदायिक बन उपभोक्ता समूहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संस्थागत सुदृढीकरण तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम तथा कोचिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा १२ वटा सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको सहजीकरण बन अधिकृत सृजना (श्रद्धा) गुरुङले गर्नुभएको हो।
बन रक्षक प्रेमलाल शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य फरेस्टर लक्ष्मण खत्रीले व्यक्त गर्नुभयो भने कार्यक्रमको अध्यक्षता सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष गगाबहादुर घर्ति पुनले गर्नुभएको थियो।
तालिमका क्रममा बन अधिकृत गुरुङले सामुदायिक बनको दिगो संरक्षण र प्रभावकारी व्यवस्थापनका लागि संस्थागत क्षमता र पारदर्शी लेखा प्रणाली अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“स्पष्ट र नियमित लेखा व्यवस्थापनले उपभोक्ताहरूको विश्वास बढाउँछ र बन व्यवस्थापनलाई अझ मजबुत बनाउँछ।”
उहाँले समितिका पदाधिकारी मात्र नभई सम्पूर्ण उपभोक्ताहरूमा आय–व्यय बुझ्ने, अभिलेख राख्ने र पारदर्शिता कायम गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमबाट सहभागीहरूले सामुदायिक बन व्यवस्थापन, आर्थिक अनुशासन, अभिलेख प्रणाली तथा सुशासनसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गरेको बताएका छन्। यसले आगामी दिनमा बनको संरक्षण, सदुपयोग र आम्दानी वृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
🗓️ २०८२ चैत्र १९ बिहीबार 🕝०८: ४६ बिहान

