गलकोट नगरपालिका–१० पाण्डबखानीमा रहेको न्यु घुम्टे एजुकेशनल एकेडेमी स्कूलले बनभोज तथा अवलोकन कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।
विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा बनभोजसँगै पाण्डबखानीस्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल सिद्धथानको अवलोकन गरिएको थियो। सो क्रममा विद्यार्थीहरूले त्यहाँ रहेका विभिन्न मठ–मन्दिर, प्राकृतिक दृश्य तथा धार्मिक सम्पदाबारे जानकारी हासिल गरेका थिए।
विद्यालयका प्रिन्सिपल तारा काउचाका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलप्रति चासो अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। उहाँले अतिरिक्त क्रियाकलापमार्फत सिकाइ प्रक्रियालाई व्यवहारिक, प्रभावकारी र रमाइलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको व्यक्तित्व विकास तथा व्यवहारिक ज्ञान अभिवृद्धिका लागि यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।
🗓️ २०८२ चैत्र १९ बिहीबार 🕝०८: ४६ बिहान

