आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले ३७ वटै वडामा एकैसाथ चुनावी अभियान सुरु गरेको छ। सोमबार दिउँसो ठीक १ बजे ‘एकै दिन, एकै समय, एकै साथ चुनाव प्रचारको सन्देश–फागुन ४’ भन्ने नारासहित वडा तहमा औपचारिक कार्यक्रममार्फत अभियान प्रारम्भ गरिएको हो।
क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलका अनुसार निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुरूप फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसार अवधि निर्धारण गरिएको छ। सोहीअनुसार वडा तहबाट औपचारिक रूपमा चुनावी कार्यक्रम सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
बागलुङ–१ बाट काँग्रेसका उम्मेदवार भीम श्रीसलाई विजयी गराउन संगठन परिचालन तीव्र पारिएको पौडेलले बताए। क्षेत्रीय कार्यसमितिको संयोजनमा प्रत्येक वडामा अनिवार्य रूपमा एक जना प्रतिनिधि खटाउने व्यवस्था गरिएको छ। साथै, प्रत्येक वडा तथा निर्वाचन बुथमा सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय समेत गरिएको छ।
कार्यक्रममा चुनावी रणनीति निर्माण, मतदाता लक्षित कार्यक्रम, घरदैलो अभियानको प्रभावकारिता, संगठन सुदृढीकरण तथा बुथ व्यवस्थापन लगायतका विषयमा विस्तृत छलफल भएको काँग्रेस बागलुङले जनाएको छ।
क्षेत्रीय सचिव तेजप्रसाद शर्माका अनुसार यस क्षेत्रका ३७ वटै वडामा ४५ जना प्रतिनिधि खटाइएको छ। कार्यक्रममा बोल्ने नेताहरूले यसपटक काँग्रेस नयाँ सोच, नयाँ कार्यशैली र स्पष्ट विकास दृष्टिकोणसहित जनतामाझ आएको दाबी गरेका छन्।
आगामी दिनमा हरेक टोलसम्म पुग्ने गरी घरदैलो अभियान विस्तार गर्ने, युवालाई लक्षित विशेष संवाद कार्यक्रम सञ्चालन गर्ने तथा महिला र ज्येष्ठ नागरिकसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको सचिव शर्माले बताए।

