आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन रमुवामा सर्वदलीय बैठक सम्पन्न भएको छ।
गलकोट नगरपालिका–१० रमुवा स्थित रमुवा आधारभूत विद्यालय मतदान केन्द्रमा आयोजित बैठकमा मतदान प्रक्रिया, सुरक्षाको व्यवस्था तथा निर्वाचन आचारसंहितासम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो । बैठकमा मतदान कसरी गर्ने भन्ने विषयमा मतदातालाई स्पष्ट मार्गदर्शन दिइएको थियो। जेष्ठ नागरिक, असहाय अपाङ्ग तथा गर्भवती महिलालाई प्राथमिकता दिने व्यवस्था मिलाइएको जानकारी गराइयो। साथै, एकै परिवारका सदस्यले सामूहिक रूपमा मत हाल्न नपाउने, मतदान केन्द्रको ३ सय मिटर क्षेत्रभित्र मदिरा सेवन गर्न नपाइने तथा चुनावी प्रचार सामग्री जस्तै टोपी र टिर्सट प्रयोग गर्न निषेध गरिएको स्पष्ट पारियो। सुरक्षा व्यवस्थाका सम्बन्धमा समेत आवश्यक जानकारी दिँदै शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सबै पक्षलाई सहकार्य गर्न आग्रह गरिएको थियो। बैठक मतदान केन्द्रका मतदान अधिकृत भुवन बहादुर कवरको अध्यक्षतामा सम्पन्न भएको हो। रमुवा आधारभूत विद्यालय मतदान केन्द्रमा कुल ३६८ जना मतदाता रहेका छन्। त्यस्तै निर्वाचन आयोग बागलुङ अन्तर्गत रहेको निर्वाचन अधिकृतको कार्यालय, बागलुङले जारी गरेको निर्णयअनुसार पूर्व तोकिएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ। उक्त निर्णयसँगै सोही मतदान केन्द्रमा भुवन बहादुर कुवरलाई नयाँ मतदान अधिकृतको रूपमा जिम्मेवारी प्रदान गरिएको कार्यालयले जनाएको छ। निर्वाचन कार्यलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापनअन्तर्गत उक्त परिवर्तन गरिएको बताइएको छ। निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित अधिकृतहरूलाई आवश्यक निर्देशन दिँदै निर्वाचन सामग्री सुरक्षित रूपमा हस्तान्तरण गर्न समेत आग्रह गरेको छ।
🗓️ २०८२ चैत्र १९ बिहीबार 🕝०८: ४६ बिहान

