पोखरा ।
गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितलाई सघाउन कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई १ करोड सहयोग गर्ने निर्णय गरेको हो ।
‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो । एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले १ करोड दिने निर्णय गरेका हौँ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने । गण्डकी सरकारले शनिबार नै भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधिसहित विषेशज्ञ चिकित्सकको टोली पठाएको थियो ।
‘स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचारमा लागेको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’ मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यु हुने कर्णालीवासीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेको छ ।
जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पबाट डेढ सयभन्दा बढीको ज्यान गइसकेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । सरकारले सबै घाइतेको उपचार निशुल्क गर्न निर्णय गरेको छ भने तीन तहकै सरकार, उद्योगी, व्यवसायीले स्वतःस्फूर्त सहयोग गर्न थालेका छन् ।