मेरो भकुण्डे गाउँ,
पहाडको काखमा बिस्तारिएको,
जहाँ नेवारका चार पाँच घर थिए,
कसैले कल्पना नगरेको तरिकाले,
व्यापारमा जमेका थिए उनीहरू।
त्यो गाउँ, जहाँ अधिकांश मगर बस्ती थियो,
एकलौटी तरिकाले चल्ने व्यापार,
जहाँ हाट बजारभन्दा अघि
भरपर्दो अनुहार थियो छिमेकीको।
देशमा राजतन्त्र आयो, गयो ।
प्रजातन्त्र आयो, फेरि गणतन्त्र पनि।
गाउँ घरमा मोटर बाटो पुग्यो,
विश्वको धनी देश पानीमा भएपनि बिजुली बल्यो ।
विकासको लहर बग्न र चल्न थाल्यो,
तर त्यो लहरसँगै
लहरिएर बसाई सराई गर्यो गाउँको मुटु।
पहिला सराइ गरे नेवारहरूले ।
व्यापारले डोर्यायो,
सपना बोकेर पुगे
पोखरा, काठमाडौं, नारायणगढ।
पछि मगर पनि लागे,
दलित, अन्य जातजाती पनि।
आज त्यो गाउँ…
खाली घरहरूको संकलन हो,
बाँझो खेतवारीको सङग्रहको सन्देश हो।
मलामी नै नपाइने बेला,
कसरी बाँच्छ मान्छे?
आज त्यो गाउँ…
खाली घरहरूको संकलन हो,
बाँझो खेतवारीको सङग्रहको सन्देश हो।
मलामी नै नपाइने बेला,
कसरी बाँच्छ मान्छे?
मन भतभती पोल्छ,
यो सुन्नु, यो देख्नु युवाहरु
गाउँको शून्यता साक्षी बनेर।
म सोचिरहन्छु
कसरी फर्काउने ती अनुहारहरू?
कसरी भर्ने ती घरका आगनहरू?
कसरी समुन्नति ल्याउने बस्तीमा?
शहरले लिएको छ सपनाको मूल्य,
तर गाउँ खोजिरहेछ आशाको बीऊ।
शायद…
फेरि फर्किए एक पुस्ता,
फेरि गुञ्जियो हाँसोको स्वर,
पहिलाको जस्तो हराभरा त्यो दिन
भकुण्डे फेरि सुन्दर गाउँ बन्ला।
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ
