गल्कोट नगरपालिका–१० पाण्डवखानीमा अवस्थित सामाजिक संस्था पञ्चधारा युवा परिवारको आयोजनामा ऐतिहासिक तथा धार्मिक स्थल पञ्चधारामा “पञ्चधारा जाऔँ, ऋषिश्वरको दर्शन गरौँ, पुण्य कमाऔँ” भन्ने मूल नारासहित २९औँ वार्षिकोत्सव, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति मेला पुस २८ गतेदेखि सञ्चालनमा आएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं गल्कोट नगरपालिका–१० का वडाध्यक्ष भक्तबहादुर काउचाले यस्ता धार्मिक, ऐतिहासिक तथा सामाजिक कार्यक्रमले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। आयोजकका अनुसार मेलाअन्तर्गत पुरुष भलिबल, महिला भलिबल, पुरुष पौड भलिबल, महिला पौड भलिबल, साथै लोक नृत्य र कुर्ची दौड जस्ता खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। कार्यक्रम क्लबका अध्यक्ष चन्द्रलाल काउचाको अध्यक्षतामा सम्पन्न भइरहेको छ भने कर्णबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन भ्रमन श्रीस र खड्क श्रीसले संयुक्त रूपमा गरिरहनुभएको छ।

