पाण्डबखानी–रमुवा जोड्ने नयाँ ट्र्याक स्तरउन्नति कार्य तीव्र
पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरउन्नति सडक आयोजनामा हाल कटिङ कार्य २५ प्रतिशत सम्पन्न भएको छ। ३ किलोमिटर लम्बाइको यस सडक आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयबाट कुल ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सडक निर्माणको जिम्मा पाएको केसी निर्माण सेवाका प्रोप्राइटर योगेश भण्डारीका अनुसार हाल कटिङ कार्यलाई निरन्तरता दिइएको छ भने बाँकी सबै कामहरू तोकिएको मापदण्ड (स्ट्यान्डर्ड) अनुसार छिट्टै सुरु गरिनेछ। यसैबीच आयोजनाको स्थलगत अनुगमन इन्जिनियर चन्द्र पुन र निरज पुन, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, वडा सदस्य कुमार पुन तथा पत्रकार सुरेश छन्त्याललगायतको टोलीले गरेको थियो। अनुगमनका क्रममा निर्माण कार्य निर्धारित योजना अनुसार अघि बढिरहेको जानकारी दिइएको छ। सडक स्तरउन्नतिपछि पाण्डबखानी–रमुवा क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

