नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा बढ्दै पर्यटकको चहलपहल
गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा भन्ने स्थानमा अवस्थित रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, शान्त वातावरण र हरियालीले भरिपूर्ण यो पोखरी स्थानीयबाहेक बाहिरका मानिसहरूको नजरमा खासै पर्न सकेको थिएन।
तर हालसालै रमुवा गाउँसम्म पुग्ने नयाँ ट्रयाक खुलेपछि वकरा क्षेत्रको परिचय विस्तारै फैलिन थालेको छ। सहज पहुँच बनेसँगै अहिले उक्त पोखरी अवलोकन गर्न, फोटो खिच्न, टिकटक भिडियो बनाउन तथा पिकनिक मनाउन जानेहरूको संख्या बढ्दै गएको छ।
वडा सदस्य कुमार पुनका अनुसार, “पहिला यहाँ पुग्न निकै कठिन थियो। बाटो नहुँदा सुन्दर ठाउँ भएर पनि ओझेलमै रह्यो। अहिले ट्रयाक खुलेपछि स्थानीय मात्र होइन, बाहिरी ठाउँबाट पनि मानिसहरू आउन थालेका छन्।” उनका अनुसार यसले गाउँको पहिचान बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीय युवायुवतीहरू सामाजिक सञ्जालमार्फत वकरा पोखरीका दृश्यहरू सार्वजनिक गर्न थालेपछि यसको चर्चा अझै बढेको छ। शान्त, स्वच्छ र प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्र भविष्यमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना बोकेको स्थानका रूपमा हेरिन थालिएको छ।
स्थानीयवासीहरू भने अब पोखरी तथा वरपरको वातावरण संरक्षण गर्दै पूर्वाधार व्यवस्थापनमा नगरपालिका र सरोकारवालाको ध्यान जानु आवश्यक रहेको बताउँछन्। संरक्षण र प्रवर्द्धन सँगसँगै अघि बढ्न सके वकरा पोखरी रमुवा गाउँको पहिचान र आम्दानीको स्रोत बन्न सक्ने विश्वास लिइएको निवर्तमान वडा अध्यक्ष तिलक घर्तिले जानकारी दिनु भयो।

