राजन्द्र श्रेष्ठ
गलकोट नगरपालिका–३ हतियाको समपोखरा, कोटमैदान, खसगाउँ, पिडाल्ने, स्याहाला र मठाहाँडाँडामा बाममोर्चाको चुनावी जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी गलकोट नगर सचिव तथा वडा नम्बर ३ का इन्चार्ज खिम साहानीले गर्नुभएको थियो।
जनभेटघाट कार्यक्रममा सहभागी अधिकांश मतदाताहरूले आउँदो फागुन २१ गते हुने निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका युवा नेता तथा प्रखर वक्ता ज्ञामनाथ गैरे ‘अनिल’लाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रचारप्रसार अभियानमा संलग्न नेताहरूले संघीयता, संविधान, गणतन्त्र र समानताको रक्षा गर्दै समग्र क्षेत्रको विकास र समृद्धिका लागि तारा चिन्हमा मतदान गरी ज्ञामनाथ गैरे ‘अनिल’लाई विजयी गराउन आग्रह गरेका थिए।
यसैगरी, गलकोट नगरपालिका–२ को घामपानी, मसारा र झाँक्रीगैरा क्षेत्रमा पनि बाममोर्चाको प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी गण्डकी प्रदेश सदस्य तथा वडा नम्बर २ का इन्चार्ज चन्द्रदत्त रेग्मीको नेतृत्व रहेको थियो। कार्यक्रममा वडा संयोजक गंगा बहादुर कुँवर, वाइसिएल नेपाल गलकोट संयोजक तिलक पुन, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बिरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो।
बाममोर्चाले दुवै वडामा घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाएको जनाएको छ।

