राजेन्द्र श्रेष्ठ
निसिखोला गाउँपालिकामा आयोजित एक कार्यक्रममार्फत करिब १५० जना नेता–कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रमको सञ्चालन इद बहादुर रसाइलीले गरेका थिए भने अध्यक्षता कुबिर विश्वकर्माले गरेका थिए। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला निर्वाचन परिचालन समितिका संयोजक चन्द्र बुढा (सागर) प्रमुख अतिथि रहेका थिए। गण्डकी प्रदेश सदस्य प्रेम घर्ती र चन्द्र ब. थापा अतिथिका रूपमा सहभागी थिए।
पार्टी प्रवेश गर्नेहरूमा गण्डकी प्रदेश सदस्य अमर सिंह घर्ती, निसिखोला गाउँपालिका एमाले उपाध्यक्ष श्याम घर्ती मगर, मिलन जिसी, ज्ञान बा. घर्ती, लिला बुढा मगर, विशाल घर्ती मगर, मान बुढा, सोम बहादुर घर्ती मगर, ज्ञानु घर्ती मगर, रामु घर्ती मगर, नवीन घर्ती मगर, सन्देश घर्ती मगर, हेम रेग्मी लगायतका नेता–कार्यकर्ता रहेका छन्।
पूर्व गण्डकी प्रदेश संगठन कमिटी सदस्य अमर सिंह घर्तीले एमालेमा लामो समय सक्रिय रूपमा काम गरेको उल्लेख गर्दै पछिल्लो समय पार्टीको राजनीतिक दिशा र व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे। उनले पार्टीभित्र व्यक्तिवाद, गुटीय स्वार्थ र पारदर्शिताको अभाव देखिएको आरोप लगाउँदै कम्युनिस्ट आन्दोलनलाई पुनः जनकेन्द्रित र उत्तरदायी बनाउन आवश्यक रहेको बताए।
उनले नेपाली कम्युनिस्ट पार्टीले अघि सारेको एकता र जनमुखी दृष्टिकोणप्रति विश्वास व्यक्त गर्दै आफू औपचारिक रूपमा एमालेसँगको सम्बन्ध अन्त्य गरी नयाँ यात्रामा समाहित भएको घोषणा गरे।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य चन्द्र बुढा (सागर)ले पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै यस कदमले संगठन सुदृढ हुने विश्वास व्यक्त गरे। उनले आगामी निर्वाचनमा पार्टी उम्मेदवार ज्ञामनाथ गैरे (अनिल)को विजय सुनिश्चित हुने दाबी गरे।
निसिखोलामा सम्पन्न उक्त एकता कार्यक्रमले स्थानीय राजनीतिक गतिविधिमा नयाँ तरंग ल्याएको स्थानीय राजनीतिक वृत्तमा चर्चा गरिएको छ।

