राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कोणसभा आज गलकोट नगरपालिका ३ हटिया जिपपार्कमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा समानुपातिकतर्फका उम्मेदवार, पूर्वमन्त्री भिम प्रसाद गौचन ले सम्बोधन गर्दै भ्रष्टाचारलाई आमाको रगत खानु सरहको अपराध भएको टिप्पणी गरे। उनले भने अहिले नेपालमा दुई वटा एजेन्डाको बहस चलिरहेको छ संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको प्रचण्ड पथ, र राजतन्त्र तथा सनातन धर्मसहित हिन्दुराज्य स्थापनाको पृथ्वी पथ। देशको स्थायित्व र सांस्कृतिक पहिचानका लागि राजतन्त्र र हिन्दुराज्य आवश्यक छ। उनले आगामी निर्वाचनमा हलो चिन्हमा मतदान गरी पार्टीलाई विजयी बनाउन आग्रह गरे। कार्यक्रममा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ की उम्मेदवार अन्चल साही ठकुरी ले सबल, समृद्ध र समुन्नत नेपालको निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै मतदातासँग समर्थन मागेका थिए। उनले भने ,हामी राष्ट्रको स्वाभिमान, सुशासन र समृद्धिका पक्षमा उभिएका छौं। हलो चिन्हमा मतदान गरी मलाई विजयी बनाउन सबैसँग अनुरोध गर्दछु । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी गलकोटका नगर अध्यक्ष डम्बर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी बडिगाड गाउँपालिका अध्यक्ष जीवन घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला उपाध्यक्ष कमला परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन्।कार्यक्रममा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

