गल्कोट समाज चितवनद्वारा राहत वितरण तथा असहाय वृद्ध आश्रममा सहयोग कार्यक्रम सम्पन्न
चितवन गल्कोट समाज चितवनले राहत वितरणसँगै असहाय वृद्ध आश्रममा सहयोग कार्यक्रम सम्पन्न गरेको छ। रत्ननगर–१३, अमिलियास्थित वृद्ध आश्रममा आयोजित एक कार्यक्रममा समाजले नगद रु १५ हजार सहयोग प्रदान गरेको हो।
समाजका केन्द्रीय अध्यक्ष बलबहादुर खत्री र उपाध्यक्ष मिनबहादुर खत्रीका अनुसार, आश्रममा रहेका ज्येष्ठ नागरिकलाई केही राहत पुग्ने उद्देश्यले सहयोग गरिएको हो। यसअघि पनि समाजले विभिन्न स्थानका दुई वटा आश्रममा सहयोग गर्दै आएको जनाएको छ। उक्त आश्रममा हाल ९ जना महिला र ५ जना पुरुष गरी १४ जना ज्येष्ठ नागरिक आश्रित छन्। आश्रमकी संस्थापक सुनिता पौडेलका अनुसार २०७२ सालमा दुई जना वृद्धलाई आश्रय दिँदै आश्रम स्थापना गरिएको थियो।
त्यसैगरी, गल्कोट समाजकी आजीवन सदस्य जुना खत्रीको घरमा आगलागीबाट क्षति भएपछि संस्थाले राहतस्वरूप नगद रु २० हजार सहयोग गरेको राहत कोष प्रमुख कृष्ण थापाले जानकारी दिनुभयो। कार्यक्रम गल्कोट समाज चितवनका केन्द्रीय अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राहत संयोजक कृष्ण थापाले मन्तव्य राख्नुभएको थियो भने सचिव प्रेमप्रसाद कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समाजले आगामी दिनमा पनि सामाजिक सेवा तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

