बागलुङमा १४४ जना क्षयरोगका विरामी फेला परेका छन् । बागलुङमा आर्थिक वर्ष ०८२÷८३ को फागुन महिना सम्म जिल्लामा १४४ जना क्षयरोगका बिरामी फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
“हो हामी क्षयरोग अन्त गछौँ, राष्ट्रिय अभियान, हामो योगदान” भन्ने मुल नाराका साथ बागलुङमा विश्व क्षयरोग दिवस २०८२ बागलुङमा पनि अन्तरक्रिया कार्यक्रम गरि मनाईएको थियो ।
प्रत्येक वर्ष क्षयरोगका बिरामी फेला पर्ने क्रम भइरहेको र यसलाई नियन्त्रणका लागि अभियान समेत सञ्चालन गरिँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशाशक प्रविण शर्माले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८१÷०८२मा जिल्लामा २६४ जना क्षयरोगका बिरामी फेला परेकोमा यस आर्थिक वर्षको फागुन सम्ममा थप १४४ जना पुष्टि भएको शर्माले बताउनुभयो । क्षयरोगका बिरामी जिल्लामा भेटिने क्रम भएको र नियमित औषधी सेवन नगर्दा समस्या बढ्दै गएको शर्माले बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी बडिगाड गाउँपालिकामा ३८ जना, ढोरपाटन नगरपालिकामा ३२ जना, गल्कोटमा २७, बागलुङ नगरपालिकामा १५, निसिखोला गाउँपालिकामा १३ जना बिरामी फेला परी औषधी सेवन गर्दै आएका छन ।
त्यसैगरी, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकामा पाँच पाँच जना, ताराखोला र तमानखोलामा चार चार जना र बरेङ गाउँपालिकामा एक जना क्षयरोगका बिरामी साउनदेखि फागुन सम्ममा फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
रोग नियन्त्रणका लागि बागलुङका स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा परिक्षण र औषधी प्रदान गरिँदै आएको घिमिरेले बताउनुभयो । बागलुङमा बडिगाड, गलकोट, काठेखोला र बागलुङ नगरपालिकामा क्षयरोग मुक्त अभियान समेत सुरु भएको छ । सबै नागरिकलाई रोगबाट बच्न जनचेतना जनाउन र उपचारको लागि काम भइरहेको घिमिरेले बताउनुभयो ।
जिल्लामा आर्थिक वर्ष०८२÷८३ फागुन सम्ममा १८ जनाको क्षयरोगका कारण मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

