“जहाँ आफू, त्यहाँ छोराछोरी” र “जहाँ शिक्षकको भरोसा, त्यही गुणस्तरीय शिक्षा” भन्ने भनाइलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयप्रति विश्वास बढ्दै गएको देखिएको छ।
सामुदायिक विद्यालयका शिक्षकमा आत्मविश्वास छैन भन्ने धारणा निराधार सावित हुँदै गएको छ। विद्यालयमा कार्यरत सरकारी दरबन्दीका शिक्षक, स्थानीय स्रोतबाट नियुक्त कर्मचारी तथा अन्य स्टाफहरूले आफ्नै सन्तानलाई समेत सरकारी विद्यालयमै अध्ययन गराउँदै आएका छन्।
यस्तै सन्दर्भमा, महेन्द्र माध्यमिक विद्यालय मा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका शिक्षक तथा कर्मचारीका छोराछोरीसँग विद्यालय परिवारले सामूहिक तस्बिर खिचेको छ। उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक आदरणीय रेमबहादुर कार्की तथा शिक्षिका दिपा साहानीको उपस्थिति रहेको थियो।
शिक्षक आफैंले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुले विद्यालयप्रतिको विश्वास, गुणस्तरीय शिक्षाको प्रतिबद्धता र सामुदायिक शिक्षाको सुदृढीकरणमा सकारात्मक सन्देश प्रवाह गरेको सरोकारवालाहरूले बताएका छन्।
नेपालका धेरै सामुदायिक विद्यालयहरूले पछिल्लो समय शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षा, अंग्रेजी माध्यम र पूर्वाधार विकासमा जोड दिँदै आएका छन्, जसले अभिभावकको आकर्षण बढाइरहेको छ।
