गलकोट नगरपालिका अन्तर्गत पाण्डबखानीकी २५ वर्षिय विमला थापाले सामाजिक सञ्जाल फेसबुकमा आत्मघाती प्रकृतिको भावुक स्टेटस लेख्दै विष सेवन गरेकी छिन्। हिजो साँझ श्रीमानसँग भएको सामान्य भनाभनलाई लिएर आज बिहान करिब साढे ११ बजे ती महिलाले विरुवाको किटाणु मार्ने औषधि (विष) सेवन गरेकी हुन्।
पारिवारिक तनाव र मानसिक पीडा व्यक्त गर्दै फेसबुकमा लामो स्टेटस लेखेर बेहोस भएकी उनलाई स्थानीयवासीले फेला पारी तत्काल उद्धार गरेका थिए। विष सेवन गरेकी महिलाको अहिले गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रमुख राजेश पौड्यालका अनुसार समयमै अस्पताल ल्याइएकाले अहिले महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र खतरामुक्त रहेको जानकारी दिनुभयो।
पारिवारिक स्रोतका अनुसार हिजो साँझ ती महिलाले श्रीमानसँग ‘भोलि हटिया जान्छु र उतै बस्छु’ भनेकी थिइन्। श्रीमानले ‘किन बस्ने हो र, बेलुकी घर फर्कौँ’ भनी सम्झाउन खोज्दा श्रीमतीले फोन काटेकी थिइन्। सोही विषयलाई लिएर मानसिक तनावमा परेकी उनले आज बिहान सामाजिक सञ्जालमा आफ्ना माइतीपक्ष र श्रीमानसँगका पुराना असमझदारी तथा पीडा उल्लेख गर्दै छोराको नाममा भावुक सन्देश लेखेकी थिइन्। उनले फेसबुकमा आफूले कडा मानसिक यातना भोगेको दाबी समेत गरेकी छिन्।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालयको टोली वडा अध्यक्ष भक्त बहादुर काउचा पत्रकार सुरेश छन्त्याल विस्तृत स्थलगत पुगेर घटनाको वास्तविक कारण र पारिवारिक पृष्ठभूमिका विषयमा थप अनुसन्धान गरेको छ।
थप जानकारी आउन बाकि रहेको जनाइएको छ।

